२४ औँ स्थापना दिवस (जन्मोत्सव) को अवसरमा रक्तदान कार्यक्रम तथा दीप प्रज्वलन सम्पन्न
दमक, झापा | ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले आफ्नो २४ औँ स्थापना दिवस (जन्मोत्सव) को अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्वेच्छिक रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, दमक शाखा ले गरेको थियो।
कार्यक्रमको शुभारम्भ प्रतिष्ठानको २४ औँ स्थापना दिवस (जन्मोत्सव) को प्रतीकस्वरूप २४ वटा दीप (मैनबत्ती) प्रज्वलन गरी गरिएको थियो। दीप प्रज्वलनमार्फत संस्थाको २४ वर्षे सामाजिक सेवा, मानवता र ज्येष्ठ नागरिकप्रतिको समर्पणलाई स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
रक्तदान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्री दुर्गा प्रसाद पौडेल, सह-सचिव श्रीमती उर्मिला भट्टराई, तथा केन्द्रीय सदस्य श्री रुद्र बहादुर खड्का सहित अन्य समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूले उत्साहपूर्वक रक्तदान गरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले "रक्तदान जीवनदान, जीवनदान महादान" भन्ने सन्देशलाई आत्मसात गर्दै नियमित रक्तदानले असंख्य बिरामीको जीवन बचाउन सक्ने भएकाले सबै स्वस्थ नागरिकलाई समय–समयमा स्वेच्छिक रक्तदान गर्न आग्रह गर्नुभयो।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले विगत २४ वर्षदेखि ज्येष्ठ नागरिकहरूको सम्मान, सामाजिक सेवा, मानव कल्याण तथा समुदायको हितमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना दिवस (जन्मोत्सव) को अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले संस्थाको मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।
प्रतिष्ठानले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाइटी, दमक शाखा, रक्तदाता, स्वयंसेवक, शुभेच्छुक तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गरेको छ।